New Technology for :Easy & Fast Garden

0

 

          फूल–बिरुवा र आकर्षक बगैंचाको रहर सबैलाई हुन्छ । तर, बिरुवा उमार्ने, त्यसका लागि गर्नुपर्ने नियमित स्याहारको झन्झटले धेरैजनाका लागि यो रहरमै सीमित हुन्छ । कतिपयलाई व्यस्तताका कारण बगैंचाका लागि फूल–बिरुवा तयार गर्ने समय नै उपलब्ध हुँदैन ।
यस्तो प्रतिकूलतालाई सम्बोधन गर्ने गरी २ महिनाअघिबाट तयारी बगैंचाको विकल्प लिएर आएको छ, यूजी इन्टरप्राइजेज । विदेशमा अभ्यस्त बनिसकेको यस्तो गार्डेनिङ सेवा नेपालमा भने पहिलो हो ।
५ जना युवाको समूहले सुरु गरेको बगैंचा सजाउन सघाउने यो पृथक् अवधारणाको सेवालाई उनीहरुले ‘आई एम द गार्डेनर’ स्लोगनमा पस्किरहेका छन् । यसले ग्राहकलाई तत्कालै आफ्नो बगैंचा तयार गर्न सकिने किसिमले विभिन्न किसिमका तयारी फूल–बिरुवा उपलब्ध गराउँछ ।
गार्डेनिङ गर्न चाहने तर समयको अभावका कारण यसलाई रेखदेख गर्न नपाउने व्यक्तिहरुलाई यो अत्यन्तै सहज र सुलभ उपाय हुन सक्छ । घर, रेस्टुरेन्ट, होटल, पार्टी, सेमिनारलगायतका ठाउँमा छिटो तथा छोटो समयमा फूल–बिरुवा सजाउन यो एकदमै प्रभावकारी हुनेछ ।
यूजीले फक्रिसकेको फूल तथा बिरुवालाई गमलामा सजाएर तयारी अवस्थामा विक्री गर्दछ । सामान्यतया बगैंचा सजाउनका लागि नर्सरीबाट प्लाष्टिक (पोली)मा उमारेका बिरुवा लगेर सार्ने गरिन्छ । तर, ‘आई एम द गार्डेनर’ले हुर्किसकेका वा पूर्ण रुपमा फूल फुलिसकेको बिरुवालाई गमलासहित तयारी अवस्थामा उपलब्ध गराउने हुँदा त्यसलाई घर लगेर सीधै सजाउन सकिन्छ । बिरुवा सारेर त्यसलाई नियमित हेरविचार गर्नुपर्ने तथा गमलाको सरसफाइ र रङरोगन गरिरहनुपर्ने झन्झट यसमा बेहोर्नु नपर्ने यूजीका मार्केटिङ डाइरेक्टर केवल रिसालले बताए । ‘प्लाष्टिकको गमला प्रयोग गरिएकाले यसको सरसफाइमा धेरै समय खर्चिनुपर्दैन,’ उनले भने, ‘साथै यो आकर्षक पनि देखिने भएकाले ग्राहकको रुचिलाई ध्यानमा राख्दै हामीले प्लाष्टिककै गमला प्रयोग गरेका छौं ।’
प्लाष्टिकबाट वातावरणमा पर्न सक्ने असरबारे सजग हुँदै यूजीले रिसाइकल गर्न (पुनः उपयोगमा ल्याउन) मिल्ने किसिमको यूपीभीसी मेटेरियलबाट बनेका गमला मात्र प्रयोग गर्ने गरेको बताएको छ । गमलामा ७० प्रतिशत मल र माटो ३० प्रतिशत मात्र हाल्ने गरिएको रिसालको भनाइ छ । यसले गर्दा फूल–बिरुवासहितको गमला हलुका हुने हुँदा यता–उता सार्नुपर्दा पनि सजिलो हुन्छ । यसरी पहिले नै गमालामा पर्याप्त मल हालेर हुर्काइएको फूल राखिने हुँदा घर लगेर फेरि माटो तथा मलको व्यवस्था गर्नुपर्ने झन्झट हुने छैन ।
यूजीले विभिन्न जातका फूल, इनडोर÷आउटडोर प्लान्ट, मौसमी बिरुवालगायत तयारी अवस्थामा उपलब्ध गराउने गरेको छ । यसमध्ये केही सेलाजिनेला, साइक्लामेन, गुलाब, गोदावरी, सयपत्री, धुपी, सूर्यमुखी केही हुन् । साना तथा ठूला आकारमा, ह्याङ्गिङ आदि लगायतका सबै प्रकारका गमला र फूल उपलब्ध गराउने जानकारी दिएको छ । गमला आवश्यक नहुनेले फूल÷बिरुवा मात्र पनि लिन सक्नेछन् ।
गमलासहित लिँदा पनि फूल-बिरुवाको मूल्य बजार भाउसँग प्रतिस्पर्धी नै रहेको रिसालले जानकारी दिए । साथै, आफूसँग नभएको फूल पनि ग्राहकले अर्डर गरे उपलब्ध गराइदिने उनले बताएका छन् ।
यूजीले बिक्रीका लागि तयार गर्ने फूल-बिरुवाहरु अहिले मण्डिखाटारस्थित खड्का नर्सरीबाट उत्पादन गरेर ल्याउने गरेको छ । उक्त नर्सरी यूजीका सह–प्रवद्र्धकमध्येका एकको पारिवारिक व्यवसाय पनि हो । यसका साथै, निकट भविष्यमै यूजीले व्यावसायिक फूल खेतीका लागि विश्वमै चर्चित मुलुक नेदरल्याण्डलबाट पनि फूल÷बिरुवा आयातको तयारी गरेको बताएको छ । रिसालले भने, ‘नेदरल्याण्डलगायतका देशबाट पनि ल्याउन अर्डर गरिसकेका छौं ।’ गमला भने यसले अहिले भारत र चीनबाट आयात गरिरहेको छ ।
फूल तथा गमलाको आकार-प्रकारअनुरुप २५ रुपैयाँदेखि २५०० सम्मका बिरुवा यूजीको धुम्बाराहीस्थित ‘आई एम द गार्डेनर’ आउटलेटमा उपलब्ध छन् । यसले ग्राहकलाई खरिद गरेको फूल-बिरुवाको स्याहार–सुसार गर्ने तरिकाबारे पनि आवश्यक सम्पूर्ण जानकारी दिने गरेको छ । जसले गर्दा पछि पनि बिरुवालाई उचित हेरविचार गर्न मद्दत मिल्नेछ ।
source:property today

July 19, 2017 |

Leave a Reply

Your email address will not be published.

2 × 4 =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar